BREAKING NEWS

Health

Report

Amazing

नेपाललाई ऐतिहासिक बंगबन्धु गोल्डकप

माघ ८, २०७२
सबै खाले अविश्वास, शंका र निराशाबीच नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप जितेको छ । नेपाली फुटबलका लागि ऐतिहासिक सावित दिन ढाकाको बंगबन्धु रंगशालामा बहराइनको यू–२३ माथि ३–० को जित हात परेको हो ।
नेपालका लागि विमल घर्तिमगरले चौथो मिनेटमा गोल गरे । खेलको ८७ औं मिनेटमा विशाल राईले दोस्रो गोल थपे । अञ्जन केसीको उत्कृष्ट पासमा विशालले गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गरे र नेपालको जित निश्चित पारे ।  नेपालले आफ्नो फुटबल इतिहासमा उपाधि जितेको यो तेस्रो पल्ट हो ।
यो २३ वर्षयता नेपालले जितेको पहिलो उपाधि हो । नेपालले दक्षिण एसियाली देशबाहेक अरु टिम पनि सम्मिलित प्रतियोगिता जितेको यो पहिलो पल्ट हो । नेपाल सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलपछि कुनै पनि औपचारिक प्रतियोगिताको उपाधि भिडन्तमा प्रवेश गरेको यो पहिलो पल्ट हो ।
नेपालले उपाधिसँगै ५० हजार डलरको पुरस्कार राशि पनि जित्न सफल रह्यो । यसअघि नै राष्ट्रिय खेलकुद परिषदले पनि विजेता नेपाली टिमका प्रत्येक सदस्यलाई दुई लाख रुपैंया प्रदान गर्ने घोषणा गरिसकेको छ । बहराइनले भने उप–विजेताका रूपमा २५ हजार डलरमा चित्त बुझायो ।
पूरा प्रतियोगितामा नेपाल अपराजित पनि रह्यो । लिग चरणमा नेपालले फेल्डा र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई १–० ले हराएको थियो । यस्तै सेमिफाइनलमा नेपालले माल्दिभ्सको चुनौतीलाई अविश्वसनीय रूपमा ४–१ ले पन्छाएको थियो ।
तीव्र गतिमा खेलिएको फाइनलमा बहराइन शारीरिक रूपमा अत्याधिक आक्रामक देखिएको थियो र नेपाली खेलाडी चोटबाट गुज्रिन पनि बाध्य रहे । खेलको अन्त्यमा बहराइन नौ खेलाडीमा र नेपाल दस खेलाडीमा सीमित रहेको थियो ।  नेपालका लागि गोलरक्षक विकेश कुथुले फेरि एकपल्ट उत्कृष्ट बचाउहरू गरे । नेपाली डिफेन्सको प्रदर्शन पनि सुदृढ रह्यो ।
खेल मिलामतोको विवाद र नेतृत्व तहमा रहेकामाथिको प्रतिबन्ध काण्डबीच ओरालो लागेको नेपाली फुटबलले लामो समयपछि यो सफलता आत्मसात् गरेको हो । पूरा प्रतियोगितामा ‘अन्डर डग’ को उपमा पाएको नेपाल विवाद र काण्डबीच पछिल्लो समय फिफा वरीयतामा दक्षिण एसियाली देशमध्ये पनि पुछारमा रहेको छ ।

विमलको उत्कृष्ट गोल
विमलले खेलको सुरुमै गोल गरेका हुन् । कप्तान विराज महर्जनले निकालेको सुन्दर क्रसमा नवयुग श्रेष्ठले गरेको हेड बहराइनका गोलरक्षकले बचाएपनि त्यसै स्थितिमा निस्केको रि–बाउन्डलाई विमलले नजिकको दूरीबाट सजिलै गोल गरे । विमलले बहराइनका गोलरक्षकले राम्रोसँग गर्न नसेको क्लियरमा फाइदा लिएका थिए ।
विमलको यो व्यक्तिगत चौथो गोल हो । बहराइनको ओलम्पिक टिम रहेको हुँदा यो गोल भने राष्ट्रिय टिमको तथ्यांकमा गणना गरिने छैन् । उनले यसै प्रतियोगिताको लिग चरणमा श्रीलंकाविरुद्ध पनि गोल गरेका थिए । विमलको यसअघिका गोल पाकिस्तान र भारतविरुद्ध रहेको छ ।
विशालको पनि प्रतियोगितामा यो दोस्रो व्यक्तिगत गोल हो । उनले यसअघि माल्दिभसविरद्ध पनि गोल गरेका थिए ।

नेपालको बदला
अहिलेसम्म नेपालले बहराइनको राष्ट्रिय टिमको सामना गरेको छैन् । तर सन् २००३ मा नेपालले बहराइनको मनामामा भएको फ्रेन्ड्ली खेलमा बहराइनको यू–२३ टिमसँग खेलेको थियो र त्यसमा नेपाल ३–० ले पराजित रहेको थियो । अहिलेको जितसँगै नेपालले त्यसको बदला लिन भने सफल भएको छ ।

इतिहास दोहरिदैं
नेपाली फुटबल इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्नु रहेको छ र यो सफलता ढाकाको बंगबन्धु रंगशालामै प्राप्त भएको थियो । त्यति बेलाको नेपाली टिमका सबैभन्दा ठूलो स्टार उपेन्द्रमान सिंह अहिलेको राष्ट्रिय टिमका गोलरक्षक प्रशिक्षक रहेका छन् ।
सन् १९९३ को फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो र त्यसमा १९ वर्षीय उपेन्द्रले उत्कृष्ट बचाउ गरेका थिए । निर्धारित र अतिरिक्त समयको खेल भने २–२ को बराबरीमा रहेको थियो । अहिलेको टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जन पनि त्यस स्वर्ण पदक विजेता टिमका सदस्य थिए । BY - Ekantipur.com

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger