BREAKING NEWS

Health

Report

Amazing

महाभूकम्पमा नेपालीलाई फेसबुक, गुगल र भाइबरद्वारा विशेष सुविधा

काठमाडौ, वैशाख १५ - महाभूकम्पमा परेका नेपालीलाई आफन्तको जानकारी उपलब्ध गराउन फेसबुक र गुगलले अभियानै थालेका छन् । भ्वाइस ओभर आईपी सेवा उपलब्ध गराउने भाइबरले इन्टरनेट उपलब्ध हुँदा नेपालबाट विश्वभर नि:शुल्क टेलिफोन गर्न सक्ने सुविधा दिएको छ । नेपाललाई लक्षित गरेर दुवै सामाजिक सञ्जाल र भाइबरले नयाँ सेवा सुरु गरेका हुन् । सँगै एप्पलले पनि नेपालमा आर्थिक सहयोग जुटाउन छुट्टै अभियान थालेको छ । 
फेसबुकले नेपालमा खोलिने अकाउन्टमा ‘सेफ्टी चेक’ सेवा उपलब्ध गराएको छ । फेसबुक खोल्नेबित्तिकै आफ्नो अवस्थाबारे सबै साथीलाई यो सेवामार्फत जानकारी गराउन सकिन्छ । सँगै फेसबुकमा रहेका साथीबारे पनि यही सुविधामार्फत सजिलै बुझ्न सकिन्छ । अर्कोतर्फ गुगलले ‘पर्सन फाइन्डर’ मार्फत सुरक्षा स्थितिबारे जानकारी लिन र दिन सकिने सेवा उपलब्ध गराएको छ । कम्पनीले पर्सन फाइन्डरमा ‘२०१५ नेपाल अर्थक्वेक’ नामक छुट्टै लिंंक राखेर विश्वभरबाट आफन्तबारे जानकारी लिन सकिने सेवा दिएको हो । यो लिंंक खोल्नेबित्तिकै सूचना लिन वा दिनका लागि अप्सन राखिएको छ । प्रयोगकर्ताले आफू र अन्यको जानकारी गुगललाई दिन सक्ने व्यवस्था छ । जसमा नाम, ठेगाना, फोन नम्बर, सन्देश, फोटोलगायत राख्न सकिन्छ । एकपटक गुगलमा सूचना राखिसकेपछि विश्वका जुनसुकै स्थानबाट सम्बन्धित व्यक्तिले राखेको जानकारी अन्यले पाउन सक्ने बनाइएको छ । सँगै रहेको अर्को लिंंकले यसरी राखिएका सूचना हेर्न सकिने व्यवस्था गरेको छ । गुगलले पाएका सबै सूचना सर्वसाधारणलाई उपलब्ध गराउने, तर पुष्टि भने गर्न नसकिने उल्लेख गरेको छ । 
गुगलले एसएमएसमार्फत पनि व्यक्तिको जानकारी लिन सकिने बनाएको छ । भारत र नेपालमा आफूले खोज्न चाहेको व्यक्तिको नाम टाइप गरेर भारतीय नम्बर ९७७३३००००० मा पठाएपछि राखिएको जानकारी आउने सेवा दिइएको हो । यसरी एसएमएस पठाउँदा नेपालबाट भने अन्तर्राष्ट्रिय एसएमएसको शुल्क लाग्नेछ । अमेरिकामा रहेकाले पनि छुट्टै नम्बरबाट एसएमएस गरेर भारत र नेपालमा रहेका आफन्तबारे जानकारी लिन सक्ने गुगलले उल्लेख गरेको छ । 
‘दुर्घटनाका समयमा सर्वसाधारणलाई आफन्त सुरक्षित छन/छैनन्’ भन्ने जानकारीको चाहिने उल्लेख गर्दै सेवा सुरु भएको केही समयपछि फेसबुकका संस्थापक मार्क जुकेरबर्गले स्टाटसमा लेखेका छन् । ‘यस्ता समयमा सम्पर्कको ज्यादै ठूलो महत्त्व हुन्छ,’ उनले लेखेका छन् । प्राकृतिक प्रकोपको समयमा समुदायलाई सहयोग पुर्‍याउने माध्यमका रूपमा यो सेवा सुरु गरिएको उनले उल्लेख गरेका छन् । जापानमा २०११ सुनामी आएपछि फेसबुकले यस्तो सेवा पहिलोपटक सुरु गरेको थियो । 
प्रयोगकर्ताबीच मात्र नि:शुल्क भ्वाइस र टेक्स्ट सेवा दिँदै आएको भाइबरले नेपालमा भने मोबाइल र ल्यान्डलाइनमा समेत पैसा बिना कुराकानी गर्न सकिने सुविधा दिएको छ । नेपालबाट विदेशमा भाइबरमार्फत् फोन गर्न पनि कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ । अन्य नम्बरमा कुराकानी गर्न प्रयोग गरिने ‘भाइबर आउट’ लाई कम्पनीले नि:शुल्क बनाइदिएको हो । ‘नेपालमा गएको भूकम्प पछि हामीले भाइबर आउट बिलिङलाई बन्द गरेका छौ’ भाइबरले आफ्नो टिवटर ह्यान्डलमा लेखेको छ, ‘नेपालका प्रयोगकर्ताले जुनसुकै स्थानमा नि:शुल्क कुराकानी गर्न सक्छन् ।’ एप्पलले पनि नेपालमा आर्थिक सहयोग जुटाउन अर्को अभियान चलाएको छ । एप्पलले आफ्नो सेवा आइट्युन्स स्टोरमार्फत अमेरिकी रेडक्रसलाई नेपालमा आर्थिक सहयोग पुर्‍याउन सहयोग माग्दै सेवा चलाएको हो । ५ देखि २ सय अमेरिकी डलरसम्म सहयोग गर्ने गरी एप्पलले यो अभियान चलाएको छ । जसमा उठेको सम्पूर्ण रकम रेडक्रसमार्फत नेपालमा सहयोग हुने कम्पनीले उल्लेख गरेको छ । ‘हाम्रा चिन्तन र प्रार्थना नेपालमा दुखद भुकम्पबाट असर परेका सबैमा छ’ एप्पलका प्रमुख कार्यकारी अधिकृत टम कुकले ट्विट गर्दै आइट्युन्समार्फत सहयोग मागेका छन् । By - ekantipur.com

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger